महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-३ मलिवारा स्थित भिट्टामोड नाकाबाट मानव बेचबिखन तथा ओसारपसार गर्ने प्रयासमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८२ फागुन २५ गते दिउँसो करिब १२:४० बजे चार जना भारतीय नागरिकले एक नेपाली महिलालाई ललाईफकाई तथा प्रलोभनमा पारेर विवाहको नाटक गरी भारततर्फ लैजान खोजेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। सोधपुछका क्रममा ती व्यक्तिहरूले महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारत लैजान लागेको खुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत गुजरातका सदिक बाक्सु भुर्च (३६), हसम अबदुला पटेलिया (५६), किसन भगवानभाई गढिया (२८) र सुनिल भगवानभाई गढिया (२८) रहेका छन्।
प्रहरी अनुसन्धानका क्रममा नेपालतर्फबाट समेत तीन जनाको संलग्नता रहेको खुलेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका–३ बस्ने ५० वर्षीया महिला (पीडितको नक्कली आमा), महोत्तरीको भंगहा नगरपालिका-६ बस्ने १८ वर्षीया युवती (नक्कली बहिनी) तथा भंगहा नगरपालिका-८ बस्ने नुरी बाबा भनिने नु अली (सम्पर्क मिलाउने मुख्य व्यक्ति) लाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










