सिन्धुलीमा मोटरसाइकल दुर्घटना: उपचारका क्रममा चालकको मृत्यु


सिन्धुली। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ रतनपुरस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको वा ४४ प ९८१७ नम्बरको २२० सीसी क्षमताको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे झनझने प्रहरी चौकी क्षेत्रभित्र अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा मकवानपुर जिल्ला थाहा नगरपालिका-९ चितलाङ निवासी रामशरण चित्रकारका ३१ वर्षीय छोरा सुशान्त चित्रकार गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचार स्थानीय स्वास्थ्य चौकीमा गरी थप उपचारका लागि हेटौँडातर्फ पठाइएको थियो। उनलाई राति करिब ११ः३० बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, मकवानपुर लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा राति १ः३५ बजे चिकित्सकले चित्रकारलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

पछिल्लो समय मदन भण्डारी राजमार्गमा सवारी दुर्घटनाका घटना बढ्दै गएको भन्दै स्थानीयले सडक सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको