सिरहा। सिरहाको गोलबजार नगरपालिका-२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साह रहेको प्रहरीले जनाएको छ। घटना शुक्रबार बिहान भएको हो।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपर सफा गरी पानी ओछ्याउने क्रममा गाडीको हाइटोली (ढाला) उठाउँदा माथि रहेको विद्युत् तारमा छोइँदा करेन्ट लागेको थियो। करेन्ट लागेसँगै गाडीको केही भागमा आगलागीसमेत भएको थियो।
करेन्ट लागेको थाहा पाएपछि चालक साहले हाम फालेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल स्थानीय अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।









