१० फागुन, रौतहट। गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।
साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल ले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रौतहट का प्रहरी उपरीक्षक सिताराम रिजाल का अनुसार नियन्त्रणमा लिइएकाहरूमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
तनावका कारण शनिबार दिउँसो १ बजेदेखि जारी कर्फ्यु अझै हटाइएको छैन। बिहीबार साँझ दुई पक्षबीचको विवादबाट सुरु भएको झगडापछि गौर क्षेत्र तनावग्रस्त बनेको थियो।
अवस्था संवेदनशील रहेकाले गौर नगर क्षेत्रमा आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको टोली समेत परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहट ले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र समेटेर कर्फ्यु आदेश जारी गरेको जनाएको छ।









