जनकपुर। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्। केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन्।
शर्माले पार्टी स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत ढंगले पार्टी अघि बढेको आरोप लगाएकी छन्।
उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्, “राजनीतिमा युवा पुस्ता आउनु पर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु।”
आफूले संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, विधि-विधानविपरीत गतिविधि भएको, पार्टीका सिद्धान्त व्यवहारमा लागू नभएको र निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको आरोपसमेत लगाएकी छन्।
“यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,” उनले विज्ञप्तिमा भनेकी छन्, “त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेस गर्दछु।”
शर्माको राजीनामाले निर्वाचनको मुखमा मधेसमा रास्वपाको संगठनात्मक अवस्थामाथि थप बहस सुरु हुने देखिएको छ।









