१६ पुस, बर्दिवास – माधव पौडेल/मिथलेश सिंह। नेपालमा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित सडक दुर्घटना विरुद्ध युवा अभियान-२०८२ बर्दिवासमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैला वाराको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको समन्वय र सहकार्यमा आयोजित शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रहरी मधेश प्रदेश प्रमुख गोविन्द थपलिया रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख थपलियाले सडक दुर्घटना केवल प्रहरीको समस्या मात्र नभई समाजकै साझा चुनौती भएको उल्लेख गर्नुभयो। उहाँले सवारी चालक, यात्रु, पैदलयात्रीदेखि अभिभावकसम्म सबैको सचेतना र जिम्मेवारी आवश्यक रहेको बताउँदै युवा वर्गलाई सडक सुरक्षाको अभियन्ता बन्न आग्रह गर्नुभयो। “कानून पालना, संयमित गति र सुरक्षित सवारी संस्कारले मात्र दुर्घटना घटाउन सकिन्छ,” उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले मधेश प्रदेशमा दुर्घटनाका प्रमुख कारणका रूपमा तीव्र गति, मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्ति, हेल्मेट तथा सिटबेल्ट प्रयोगमा लापरवाही, ओभरलोड र सडक अनुशासनको कमीलाई औंल्याएका थिए। साथै ई रिक्ब्साका चालकहरुलाई लाईसेन्स लिने प्रक्रिया झन्झटीलो अव्यवहारिक रहेको पनि सहभागिले वताएका थिए। यस्ता जोखिमपूर्ण व्यवहार नियन्त्रण गर्न युवा स्वयंसेवक, विद्यालय-कलेज केन्द्रित सचेतना कार्यक्रम र समुदायस्तरीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइयो।
अन्तरक्रिया सत्रमा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार सिलवालले कार्यपत्र प्रस्तुत गर्दै सडक सुरक्षासम्बन्धी आफ्ना अनुभव, समस्या र सुझाव प्रस्तुत गरेका थिए। वहाँले सामाजिक सञ्जाल, स्थानीय क्लब र शैक्षिक संस्थामार्फत सडक सुरक्षाबारे सकारात्मक सन्देश फैलाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा ट्राफिक नियम पालना गराउने मात्र होइन, व्यवहार परिवर्तनमा जोड दिनुपर्ने सुझाव पनि उठाइएको थियो।
कार्यक्रम आयोजकका अनुसार अभियानअन्तर्गत विद्यालय तथा कलेजमा अभिमुखीकरण र सार्वजनिक स्थानमा ट्राफिक सचेतना गतिविधि सञ्चालन गरिनेछ। यस अभियानबाट सडक दुर्घटनामा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। वर्दिबासका यातायात व्यवसायि, चालक तथा सहचालक र सनसाईन स्कुल वर्दिबासका विद्यार्थिहरु, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि, विभिन्न संघ-संस्था, सञ्चारकर्मी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सडक सुरक्षा हाम्रो साझा जिम्मेवारी भएको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको निष्कर्ष निकालेका थिए। महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला ट्राफिक प्रहरी कार्यालय वर्दिवासका प्रमुख प्र.नि. वावुराम कार्कीले संचालन गर्नुभएको थियो।










