बर्दिबास विविधतायुक्त भूगोल ‘पार्क’ बन्न सक्ने सम्भावना, भूगर्भ विज्ञको ठहर


१५ पुस, महोत्तरी। महोत्तरीको बर्दिबास नगरक्षेत्र मुलुककै विविधतायुक्त भूगोल ‘पार्क’को सम्भावना बोकेको क्षेत्र रहेको भूगर्भ विज्ञले ठहर गरेका छन्। आफ्नो विद्यावारिधि (पीएचडी)का लागि बर्दिबास क्षेत्रको भूगोल अध्ययन तथा अन्वेषण गरेका भूगर्भ विज्ञ डा. सोमनाथ सापकोटाले यो क्षेत्र प्रागऐतिहासिकदेखि धार्मिक, भौगोलिक, सांस्कृतिक, पुरातात्विक र पर्यावरणीय दृष्टिले अत्यन्तै विविधतायुक्त रहेको बताएका छन्।

जिल्लाको सम्पूर्ण चुरे क्षेत्र ओगटेको बर्दिबास नगरक्षेत्रमा मधेशमै रहेर पनि उच्च पहाडी भेगमा पाइने सुन्तला, जुनारजस्ता फलफूल उत्पादन हुने स्थान भेटिएको डा. सापकोटाको भनाइ छ। “यहाँ अति लोपोन्मुख गिद्धको बासस्थान, सर्पको खानी, दुर्लभ जडीबुटीको भण्डार, महाभारतकालीन धार्मिक स्थल, पाषाण युगकालीन हतियार कारखाना र विभिन्न कालखण्डका भूकम्पीय असरका अवशेष भेटिन्छन्,” उहाँले भन्नुभयो।

थप अध्ययन तथा अन्वेषणका क्रममा बर्दिबास आइपुग्नु भएका डा. सापकोटाले बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काको संयोजनमा आयोजित अन्तर्कृयामा आफ्नो विद्यावारिधिको अनुसन्धानका क्रममा माण्डवीगङ्गा (मडहा), सोनावती (शिरखोला), भब्सी र रातु नदीका उद्गमस्थल तथा चुरे पहाडी शृङ्खलाका भित्ताहरू अध्ययन गर्दा सन् १२५५, १६००, १८३३ र १९३४ का ठूला भूकम्पको असर फेला परेको जानकारी दिनुभयो।

“यहाँको अध्ययनले करिब चार हजार ५०० वर्षभन्दा अघिदेखि नै सघन मानव बसोबाससहितको समुन्नत सभ्यताको झलक दिन्छ,” उहाँले भन्नुभयो, “यी विशेषताका आधारमा बर्दिबासलाई विविधतायुक्त भूगोल पार्कका रूपमा विकास गर्न सकिन्छ।”

डा. सापकोटाले नगरपालिकाका जनप्रतिनिधि, नगर कार्यपालिकाका अधिकृत, उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा सञ्चारकर्मीसँगको अन्तर्कृयामा यस दिशामा अघि बढ्न आग्रह गर्दै तीनै तहका सरकारबीच सहकार्य भए ठूलो बजेट नलाग्ने उल्लेख गर्नुभयो। प्रारम्भिक चरणमा करिब एक करोड ५० लाख रुपैयाँमा यो परियोजना अघि बढाउन सकिने उहाँको भनाइ छ।

बर्दिबास-३ को गौरीडाँडा ‘सर्पको खानी’का रूपमा चिनिन्छ भने सोही वडाको राइमण्डलडाँडामा लोपोन्मुख गिद्धको बासस्थान रहेको छ। बर्दिबास-४ को सोलीघोप्टेडाँडा जडीबुटीको भण्डारका रूपमा परिचित छ। बर्दिबास-११ को चनौटेडाँडा चुरे क्षेत्रकै सबैभन्दा अग्लो भूभाग मानिन्छ, जहाँ उच्च पहाडी क्षेत्रमा फल्ने जुनार र सुन्तला उत्पादन हुन्छ।

यसैगरी बर्दिबास-३ पाटु राइमण्डल क्षेत्रमा करिब १० हजार वर्ष पुरानो पाषाण युगकालीन हतियार कारखानाको अवशेष भेटिएको छ। बर्दिबास-५ टुटेश्वरमा महाभारतकालीन शिवालय टुटेश्वरनाथ रहेको विश्वास गरिन्छ भने बर्दिबास-४ माइस्थानमा करिब पाँच हजार वर्ष पुरानो देवी पञ्चधुराको मन्दिर रहेको छ।

यसअघि पुरातत्व विभाग तथा भारतीय भूगर्भ र पुरातत्वविद् टोलीले पनि यहाँको पाषाण युगकालीन हतियार कारखानाको स्थलगत अध्ययन गरी दक्षिणपूर्वी एसियामै यो क्षेत्र विशेष अनुसन्धानयोग्य रहेको निष्कर्ष निकालेको थियो।

त्यस्तै, दुई वर्षअघि बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा चुरे पर्वत श्रेणीका विभिन्न स्थल समेटेर गरिएको तीन महिने पदयात्राबाट ३८ स्थानलाई पर्यटकीय सम्भावनाका क्षेत्रका रूपमा पहिचान गरी प्रतिवेदन तीनै तहका सरकारलाई बुझाइएको थियो।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काका अनुसार हालसम्म सो प्रतिवेदनमाथि औपचारिक चासो नदेखिए पनि यसले बर्दिबासको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

आफ्नो क्षेत्रको यस्तो गौरवमय पहिचानले बर्दिबासबासी उत्साहित बनेका छन्। उनीहरूले तीनै तहका सरकारले यस क्षेत्रको विविधताको पहिचान गर्दै संरक्षण, संवर्द्धन र समयोचित विकासका लागि पहल लिनुपर्ने माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको