जनकपुरधाम। मधेश प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समावेशी समूह मधेशीतर्फ रिक्त रहेको प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी सरिता कुमारी ठाकुर नियुक्त भएकी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सिफारिस तथा निर्वाचन आयोगबाट वैशाख ३० गते प्राप्त पत्रका आधारमा सभामुख रामअशिष यादवले सोमबार ठाकुरलाई प्रदेशसभा सदस्यमा नियुक्त गर्नुभएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिनकुमार ठाकुरले जानकारी दिनुभयो।
नवनियुक्त प्रदेशसभा सदस्य ठाकुरलाई सभामुख यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ। मधेश प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ (१) बमोजिम सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै सांसद पदबाट फिर्ता बोलाएपछि उक्त पद रिक्त रहेको थियो।
सपथ ग्रहण कार्यक्रममा सभामुख यादवले नवनियुक्त सदस्य ठाकुरलाई बधाई दिँदै मधेश प्रदेशको विकास, सुशासन तथा जनताको हकहितका पक्षमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।










