१२ पुस, सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको आइतबार आफन्तबाटै घरभित्र आगजनी गरी हत्या भएपछि जिल्लाको अवस्था ६ दिनदेखि तनावग्रस्त बनेको छ। सासू, ससुरा र नन्दले घरको कोठा थुनेर सुशीलामाथि पेट्रोल छर्की आगजनी गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि मृतक सुशीलाको न्यायको माग गर्दै पीडित पक्ष र स्थानीयले सिन्धुलीमा निरन्तर दबाबमूलक आन्दोलन गरिरहेका छन्। आन्दोलन बिहीबार तोडफोड र आगजनीको अवस्थासम्म पुगेपछि कमलामाई नगरपालिका-४ धुराफाँट क्षेत्र रातभर तनावग्रस्त रह्यो।
सुशीलाको हत्यापछि सासू-ससुराका आफन्त घरमा आएर सरसामान निकाल्न लागेको र त्यसमा प्रहरीको सहयोग रहेको आरोप लगाउँदै स्थानीय र सुशीलाका आफन्त आक्रोशित भएका थिए। सोही क्रममा घरमा सामान निकाल्न गएका पाँच जना आफन्तमाथि स्थानीयले आक्रमण गर्दा उद्धारमा खटिएका प्रहरीसहित १० जना घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले करिब १० घण्टा सदरमुकाम सिन्धुलीमाढीमा कर्फ्यु जारी गर्नुपरेको थियो। आक्रोशित भिडले मृतक सुशीलाको घरमा ढुंगामुढा प्रहार गरी क्षति पुर्याएको छ भने घरमा आगजनी वा डोजर लगाएर भत्काउनुपर्ने मागसमेत उठिरहेको छ।
घटनालाई लिएर सिन्धुली प्रहरी र स्थानीय प्रशासन निरन्तर दबाबमा रहेका छन्। यसै विषयमा शुक्रबार जिल्लामा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको छ। बैठकमा शान्ति सुरक्षा कायम गर्दै पीडितलाई न्याय दिने र दोषीमाथि हदैसम्मको कारबाही गर्ने विषयमा छलफल भएको छ।
सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले सुशीला हत्याकाण्डका विषयमा निष्पक्ष र गम्भीर अनुसन्धान भइरहेको बताए।
‘हामीले अनुसन्धानमा कुनै कमजोरी गरेका छैनौं र गर्न पनि दिनेछैनौं,’ उनले भने, ‘पीडितलाई न्याय दिने र पीडकलाई कडा कारबाही गर्नेमा प्रहरी प्रतिबद्ध छ। घटनालाई राजनीतिकरण हुन नदिने हाम्रो प्रयास छ।’
पीडित पक्षले हालसम्म मृतक सुशीलाको शव बुझ्न मानेका छैनन्। मंगलबार नै पोस्टमार्टम भए पनि हत्यामा संलग्न भनिएका ससुरा दुर्गामान बम्जन र श्रीमान् सूर्यबहादुर बम्जनलाई पक्राउ गरी कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने उनीहरूको अडान छ।
घटनामा ससुरा ६२ वर्षीय दुर्गामान बम्जनसमेत जलेर घाइते भएका छन्। उनको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। मृतकका श्रीमान् सूर्य बम्जन रोजगारीका सिलसिलामा कोरियामा रहेका छन्। उनीमाथि पनि घटनामा संलग्नता रहेको आरोप लगाउँदै नेपाल झिकाएर कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब साढे ४ बजे साढे दुई तले घरको बीचको तलास्थित भान्सा कोठामा सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) ले सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
सुशीलाका बुबा हरिहरपुरगढी गाउँपालिका-४ का प्रेमबहादुर घिसिङले सोमबार सासू मायारानी, नन्द मीना, ससुरा दुर्गामानलगायतको नाममा किटानी जाहेरी दिएका छन्। जाहेरी दर्तासँगै ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, सिन्धुलीको तीनपाटन गाउँपालिका-३ राम्चेकी ५३ वर्षीया टंकमाया बुढाथोकी चार दिनदेखि बेपत्ता छिन्। उनको घरमा रगत, दिसापिसाब तथा गल्लीसम्म रगतको दाग भेटिएपछि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालयको तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ।
यसअघि पनि तीनपाटन गाउँपालिका-२ पैरेमा करिब तीन महिनाअघि एक महिलाको बीभत्स हत्या भएको थियो। यस्ता घटनाले सिन्धुलीमा महिला हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ। यसप्रति महिला अधिकारकर्मी र पीडित परिवारले शान्ति सुरक्षा र न्यायको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन्।









