९ पुस, राजविराज, सप्तरी – चन्दन रजक। जिल्ला प्रहरी कार्यालय सप्तरीले ठूलो परिमाणको लागू औषध गाँजासहित एक जना पिकअप चालकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा आज बिहान करिब ३ः०० बजे जिल्ला प्रहरी कार्यालय सप्तरी तथा इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको संयुक्त प्रहरी टोलीले छिन्नमस्ता गाउँपालिका–४ स्थित लोहापट्टी टोलमा चेकजाँचका क्रममा नेपाल–भारततर्फ जाँदै गरेको एक पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा राजविराज नगरपालिका–११ निवासी २९ वर्षीय रामकुमार यादवले चलाइरहेको को १ च ९६६५ नम्बरको पिकअप गाडीबाट ठूलो परिमाणमा लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गाडीभित्र लुकाइछिपाई राखिएको अवस्थामा ३२ पोकामा प्लास्टिकसहित ८ क्युन्टल ५१ किलो २०० ग्राम लागू औषध गाँजा बरामद गरेको छ।
पक्राउ परेका चालक यादव तथा पिकअप गाडीलाई नियन्त्रणमा लिई लागू औषध कसूर सम्बन्धी मुद्दामा जिल्ला अदालत राजविराजबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सप्तरीले लागू औषधको ओसारपसार तथा कारोबारविरुद्ध कडाइका साथ निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।









