सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रतिबन्धित लागुऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
मिति २०८२/०९/०८ गते करिब १४:५५ बजे जिल्ला सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ स्थित ब्रह्मपुरी चोकमा सिता सरन साहको घरमा डेरा गरी बस्दै आएका करिब ४० वर्षीय रामपृत साहले गाँजा लुकाई–छिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले सिता सरन साहको घर फेला पारी खानतलासी सूचना पुर्जी दिई स्थानीय व्यक्तिहरू तथा जनप्रतिनिधिको रोहबरमा रामपृत साह बस्ने कोठाको खानतलासी गरेको थियो। खानतलासीका क्रममा जेब्रा झोलाभित्र रातो प्लास्टिकमा र्यापिङ गरी राखिएको ४ केजी २०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित रामपृत साहलाई नियन्त्रणमा लिई सम्मानित सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।









