काठमाडौंका स्पा र गेस्टहाउसबाट उद्धार गरिएकामध्ये एक नाबालिका गर्भवती, पाँच जना पक्राउ


७ पुस, काठमाडौं। काठमाडौंका विभिन्न स्पा र गेस्टहाउसबाट उद्धार गरिएका आठ नाबालिकामध्ये एक जना गर्भवती रहेको खुलेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले ३ पुसमा विभिन्न मितिमा गरिएको अपरेसनबारे जानकारी सार्वजनिक गर्दै आठ नाबालिकाको उद्धार गरिएको जनाएको थियो। उद्धार गरिएकामध्ये एक नाबालिकाले आफ्नो समस्या बताएपछि गरिएको स्वास्थ्य परीक्षणमा गर्भ बसेको पुष्टि भएको स्रोतले जनाएको छ।

गर्भवती नाबालिकासहित उद्धार गरिएका सबै आठ जनालाई हाल ‘सेफ हाउस’मा सुरक्षित रूपमा राखिएको छ। ती नाबालिकालाई स्पा तथा गेस्टहाउसमा यौनधन्दामा लगाउने व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

खाजाघर, गेस्टहाउस र स्पामा नाबालिकालाई यौनधन्दामा लगाइएको सूचना पाएपछि ब्युरोले अनुसन्धान थालेको थियो। सो क्रममा ठमेलस्थित गोल्डेन स्पा, चाबहिलको फायर लञ्च एण्ड क्लब, बौद्धको लक्की स्पा, मित्रनगरको सुदूरपश्चिम खाजाघर तथा खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट आठ नाबालिकाको उद्धार गरिएको हो।

यस प्रकरणमा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका-१२ की गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका-४ का गोविन्द बुढाथोकी, बुढानिलकण्ठ नगरपालिका-१३ का हेमन्त श्रेष्ठ, बझाङ छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगंगा नगरपालिका-६ का भीमबहादुर साउद रहेका छन्।

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको