बर्दिबास। महोत्तरीको औरही नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणको लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार औरही नगरपालिका-१ स्थित औरही बजार नजिक बर्दिवास-जलेश्वर सडकखण्डमा शङ्कास्पद अवस्थामा रहेका दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल रोकी जाँच गर्दा लागू औषधसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाका आधारमा आइतबार साँझ ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा ईलाका प्रहरी कार्यालय रामगोपालपुर तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सम्सी गाउँपालिका-६ का २१ वर्षीय शेष तनबिरले चलाएको BR30AQ2285 नम्बरको भारतीय मोटरसाइकल र त्यसमा पछाडि सवार भारत बिहार राज्य, सितामढी जिल्ला, बेला थाना-६ का २२ वर्षीय राजु कुमार पक्राउ परेका छन्।
त्यसैगरी अर्काे BR30W0324 नम्बरको यमाहा कम्पनीको भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक सम्सी गाउँपालिका-६ कै २१ वर्षीय मुसाहिददुल इस्लाम र पछाडि सवार भारत बिहार राज्य, सितामढी जिल्ला, बेला थाना-६ कनवा निवासी २१ वर्षीय अरबिन्द कुमार मण्डललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको प्रतिबन्धित लागू औषध डाइजेपाम (Diazepam) २ एमएलका ४७४ थान, बुप्रेनोर्फिन (Buprenorphine) २ एमएलका ४८४ थान र प्रोमेथाजिन हाइड्रोक्लोराइड (Phenergan) २ एमएलका ४७८ थान गरी जम्मा १ हजार ४३६ थान एम्पुल बरामद गरिएको छ। साथै, नगद नेपाली रुपैयाँ १४ हजार ९ सय र चार थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागू औषध, मोटरसाइकल तथा अन्य सामग्रीसहित पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय गौशालामा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।










