संविधानले सुनिश्चित गरेका अधिकार हनन भएको भन्दै महोत्तरीका जेष्ठ नागरिकद्वारा जागरण अभियान सुरु


२ पुस, महोत्तरी। संविधान र कानुनले सुनिश्चित गरेका अधिकार कार्यान्वयन नहुँदा आफूहरू प्रत्यक्ष पीडित बनेको भन्दै महोत्तरीका जेष्ठ नागरिकहरूले जागरण अभियान सुरु गरेका छन्।

जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा-९ मा व्यवस्था गरिएको छुट र सुविधाबारे जनचेतना फैलाउने उद्देश्यले उनीहरूले अभियानको थालनी गरेका हुन्। अभियानको पहिलो चरणअन्तर्गत जिल्लाको बर्दिवासस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गतका सार्वजनिक स्थानहरूमा होर्डिङ बोर्ड राखिएको छ।

बर्दिवास-३ का यमबहादुर बुढाथोकीले ऐन र कानुनले दिएको अधिकारको व्यापक रूपमा उल्लंघन भइरहेको बताए। “ऐन-कानुनले दिएको अधिकार हनन भएको छ, त्यसको भुक्तभोगी हामी स्वयम् बनिरहेका छौँ। कतिपय अवस्थामा जानकारी नहुँदा पनि यस्तो भइरहेको हुन सक्छ भनेर पहिलो चरणमा बोर्ड राखिएको हो,” उनले भने, “यदि अझै पनि सुनुवाइ भएन भने अनसन बस्न बाध्य हुनेछौँ।”

जेष्ठ नागरिकहरूको गुनासो सबैभन्दा बढी सार्वजनिक सवारीसाधनमा अधिकार उल्लंघन भएको विषयमा छ। जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा-९ उपदफा-२ अनुसार सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारीसाधनमा सवारीधनी वा सञ्चालकले जेष्ठ नागरिकका लागि कम्तीमा दुईवटा सिट सुरक्षित राख्नुपर्ने र यात्रु भाडामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था छ।

तर व्यवहारमा धेरैजसो सार्वजनिक सवारीसाधनमा उक्त नियम पालना नभएको, उल्टै जेष्ठ नागरिकलाई तिरस्कार गर्ने गरिएको उनीहरूको भनाइ छ। ऐनको उपदफा-१ मा सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा जेष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनीहरूले जनाएका छन्।

घरपरिवार, समाज तथा सार्वजनिक स्थानहरूमा जेष्ठ नागरिकहरू प्रताडित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै ७८ वर्षीय कृष्ण देवकोटाले महोत्तरीबाट सुरु भएको यो अभियानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औंल्याए। “यो समस्या महोत्तरीमा मात्र सीमित छैन, देशभरकै जेष्ठ नागरिकहरू यसबाट पीडित छन्,” उनले भने।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको