पर्सामा १०४ केजी गाँजासहित दुई पक्राउ, छुटाउन आएका समूह प्रहरी देखेपछि फरार


वीरगञ्ज। पर्सामा प्रहरीले १०४ केजी गाँजा र कारसहित पक्राउ गरेका दुई जनालाई छुटाउन केही व्यक्तिहरू प्रहरी चौकीमै पुगेर हुलहुज्जत गर्ने प्रयास गरेपछि प्रहरीको थप टोली पुगेपछि उनीहरू फरार भएका छन्।

पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाँडीमा सोमबार दिउँसो करीब ३ बजे प्रहरी सहायक निरीक्षक रामनिवास सामहको नेतृत्वमा खटिएको टोलीले बी ए बी २३९८ नम्बरको कार रोकेर जाँच गर्ने क्रममा १०४ केजी गाँजा बरामद गरेको थियो। सोही कारमा सवार मकवानपुर-३ का कुमार स्याङ्ताङ र भीमफेदी-८ का भीम स्याङ्ताङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई रंगपुरटाँडी प्रहरी चौकीमा राखिएको अवस्थामा मंगलबार अपरान्ह गाँजाका दुई मुख्य कारोबारी र तीन दलाल केही व्यक्तिको भीड लिएर चौकीमा पुगेर होहल्ला गर्न खोजेका थिए। स्थिति गम्भीर बन्न थालेपछि प्रहरी सहायक निरीक्षक सामहको आग्रहमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा १५ जनाको थप टोली पुगेपछि उक्त समूह त्यहाँबाट भागेको प्रहरीले जनाएको छ।

मकवानपुरको मनहरीबाट १० पोका गाँजा लोड गरेर कार बाराको जीतपुर हुँदै जनता सडकमार्गमार्फत पटेर्वा सुगौली गाउँपालिका-१ सोनवर्षातर्फ जाँदै गरेको सूचनाका आधारमा कार रोकिएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवै जना र बरामद गाँजा सोमबार नै साँझ जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जानकारी दिएको छ।

गाँजाको तस्करीमा आफ्नो नाम खुलेपछि छुटाउन दबाब सिर्जना गर्न कारोबारी र दलालहरूले मंगलबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालयमा हिँडडुल बढाएको प्रहरी स्रोतले बताएको छ।

प्रहरीका अनुसार चौकीमै पुगेर हुलहुज्जत गर्न खोज्ने ती कारोबारी र दलालहरूको पहिचान गरी खोजी थालिएको छ। छिमेकी भारतको बिहारमा विधानसभा निर्वाचनका बेला रोकिएको गाँजा, चरेस र अफिमको तस्करी चुनाव सकिएलगत्तै पुनः सक्रिय बन्दा नेपालका मकवानपुर र धादिङका पहाडी क्षेत्रमा उत्पादित लागूऔषध भरियाद्वारा तथा गाडीमार्फत पर्साका ग्रामीण भेगमा ल्याएर भण्डारण गरिने र त्यहीँबाट भारतीय बजारतर्फ तस्करी हुँदै आएको प्रहरीको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको