जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित पिडारी चोक नजिक रहेको गोरधोई पोखरी छेउमा ठूलो परिमाणमा प्रतिबन्धित औषधिका बोतलहरू फालिएको अवस्थामा फेला परेको छ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको गोरधोई पोखरी सफा गर्ने क्रममा युवा अभियानकर्मीहरूको एक समूहले रेल्वे लिकको छेउमा ६ वटा प्लास्टिकका बोरा भेटेका थिए। ती बोरामा विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध प्रयोग गरिएका बोतल, ट्याबलेटका पत्ता लगायतका सामग्रीहरू रहेको सरसफाइ अभियन्ता पुष्पराज कुँवरले जानकारी दिएका छन्।
सो सामग्री फेला परेपछि जनकपुरका युवाहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक रूगमबहादुर कुँवरले बताएका छन्।
खुला सिमानाको फाइदा उठाउँदै अवैध कारोबारीहरूले भारतका विभिन्न स्थान हुँदै चोरबाटो प्रयोग गरी लागूपदार्थ नेपाल भित्र्याउने गरेको भन्दै सुरक्षा निकायहरू सतर्क हुँदै आएका छन्।
जनकपुरलगायतका क्षेत्रमा बढिरहेका आपराधिक घटनाको प्रमुख कारणमध्ये लागूऔषधको बिक्री–वितरण र सेवन पनि रहेको सरोकारवालाहरू बताउँदै आएका छन्। हालै ठूलो परिमाणमा प्रतिबन्धित औषधिको खाली बोतल फेला परेपछि यसकाे संगठित कारोबार भइरहेको आशंका अझ प्रबल भएको छ।
“समाज, स्थानीय तह र सुरक्षाकर्मी सबैको संयुक्त प्रयास बिना यसको रोकथाम सम्भव छैन,” जनकपुरका युवा अभिषेक यादवले सामाजिक सञ्जालमा लेखेका छन्।









