मधेश: पूर्व सभामुख मण्डलले नियुक्त गराएका करार कर्मचारी हटाउन सात दलको माग


जनकपुरधाम। मधेश प्रदेशका पूर्व सभामुख रामचन्द्र मण्डलले करारमा नियुक्त गरेका कर्मचारी हटाउन सात दलीय गठबन्धनले माग गरेको छ।

उपसभामुख बबिता राउत इशरले बुधबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका प्रतिनिधिहरूले मण्डलद्वारा नियुक्त करार कर्मचारीहरूले सभामा दर्ता भएको महाअभियोग प्रस्तावदेखि प्रस्ताव पारित हुने प्रक्रियासम्म असहयोगपूर्ण भूमिका खेलेको आरोप लगाउँदै तत्काल हटाउन माग गरेका हुन्।

सभामुख मण्डल पदअनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएपछि पदमुक्त भइसकेका छन्।

बैठकमा उपसभामुख इशरले आवश्यक प्रक्रिया पूरा गरी दलहरूको आग्रहलाई सम्बोधन गर्ने आश्वासन दिएकी छिन्।

सर्वदलीय बैठकले महाअभियोग प्रस्तावमाथि छलफलका लागि बोलाइएका बुधबारको बैठकअघि प्रदेश सभाको बत्ती काटिएको घटना बारे छानबिन गर्न प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, महाअभियोग दर्तादेखि प्रस्ताव पारित हुँदासम्म असहयोग देखाएका प्रदेश सभाका स्थायी कर्मचारीहरूसँग स्पष्टीकरण माग्ने विषयमा पनि बैठकमा सहभागी दलहरूबीच सहमति जुटेको एक सांसदले जानकारी दिए।

बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव पनि सहभागी भएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको