सर्लाही। सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साहका छोराहरू दिलीप शाह र अशोक शाह तथा भतिजा सुनिल शाहले जेन-जी समूहका सदस्यमाथि गुण्डागर्दी शैलीमा आक्रमण गरेको आरोप लागेको छ। जेन-जी सदस्य शशी साहको घर घेराउ गर्दै कुटपिट गरेको भिडियोसमेत सार्वजनिक भएको छ।
ब्रह्मपुरी-२ निवासी प्रगास साहका छोरा तथा जेन-जी युवा शशी साहमाथि अध्यक्षका छोराहरू र भतिजाले घरमै पसेर कुटपिट र गालीगलौज गरेको परिवारले जनाएको छ। घाइते शशी साहको उपचार हाल प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ।
अघिल्लो सम्झौता उल्लंघन गर्दै पुनः आक्रमण
घाइते शशी साहका अनुसार कार्तिक ३० गते राति भएको विवाद दुई युवाबीचको व्यक्तिगत झगडा थियो। आफू उक्त घटनासम्बन्धी केही नजान्दा-नजान्दै अध्यक्षका छोरासहितको भिड घरमा आएर आक्रमणमा उत्रिएको उनले बताए।
गत असोज ४ गते पनि उनीहरूद्वारा कुटपिट गरिएको भन्दै शशीले जिल्ला प्रहरी कार्यालयमा आधिकारिक निवेदन दर्ता गरेका थिए। सो क्रममा अध्यक्ष रामपदार्थ साह, उनका छोराहरू दिलीप र अशोक शाहले “अबदेखि युवामाथि कुटपिट वा दादागिरी नगर्ने” भन्दै कागजी प्रतिबद्धता गरेका थिए। तर सोही प्रतिबद्धतामाथि पुनः उलंघन भएको आरोप छ।
अध्यक्षकी प्रतिद्वन्द्वी उम्मेदवार रितामाथि पनि अश्लील गाली
गाउँपालिका अध्यक्षकी प्रतिद्वन्द्वी उम्मेदवार रिता साहले पनि अध्यक्षका छोराहरू तथा भतिजासहित ठूलो भिडले आफूलाई अश्लील गालीगलौज गरेको आरोप लगाएकी छन्। घटनाबारे आफू अनभिज्ञ हुँदाहुँदै पनि आक्रामक भिड आएर अपमानजनक व्यवहार गरेको उनको आरोप छ।
उनका अनुसार गालीगलौज गरेको प्रमाण आफूले सुरक्षित राखेकी छिन्। उक्त घटनापछि अध्यक्षका छोरालाई प्रहरीले २४ घण्टाका लागि नियन्त्रणमा लिएर फेरि छोडेको उनले जानकारी दिइन्।
जेन-जी समूहको गम्भीर ध्यानाकर्षण
जेन-जी सर्लाहीका तदर्थ समितिका संयोजक सुनिल महतोले पछिल्ला घटनाहरू योजनाबद्ध रूपमा जेन–जी युवालाई लक्षित गरी दमन, धम्की र त्रास सिर्जना गर्ने उद्देश्यले भइरहेको बताए।
इन्चार्ज राहुल शाहका अनुसार कार्तिक ३० को विवादलाई बहाना बनाइ युवा सदस्यहरूलाई घरमै पुगेर आक्रमण गर्ने, मनोवैज्ञानिक दबाब सिर्जना गर्ने र भ्रष्ट क्रियाकलाप लुकाउने प्रयास भइरहेको छ।
गत असोज ४ गते हस्ताक्षर गरेर प्रतिबद्धता जनाए पनि अध्यक्ष, उनका छोराहरू र भतिजाले पुनः आक्रमण दोहोर्याएको जेन-जी नेतृत्वको आरोप छ।
तत्काल गिरफ्तारीको माग
जेन-जी ब्रह्मपुरीका इन्चार्ज शाहले असोज ४ को निवेदनअनुसार अध्यक्ष रामपदार्थ साह, उनका छोराहरू दिलीप र अशोक शाह तथा भतिजा सुनिल शाहलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्।
त्यो न भए सर्लाहीभरि खुला आन्दोलनमा उत्रने चेतावनीसमेत जेन-जी समूहले दिएको छ। आन्दोलनको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन र प्रहरीमार्फत रहने उनीहरूको भनाइ छ।
प्रहरीको प्रतिक्रिया
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले अध्यक्षको छोरा दिलीप शाहलाई २४ घण्टाका लागि नियन्त्रणमा लिएर सोही अवधिपश्चात् छोडिएको बताए। घटनासम्बन्धी आधिकारिक जाहेरी नआएकाले कानुनी प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
अध्यक्ष रामपदार्थ साहको प्रतिक्रिया
पत्रकार बख्तियार अलीसँगको कुराकानीमा अध्यक्ष रामपदार्थ साहले उल्टै आफ्नै परिवारमाथि राति आक्रमणको प्रयास भएको दाबी गरेका छन्। जेन–जी समूहको नाममा केही व्यक्तिहरू आएर उनका परिवारका सदस्यमाथि कुटपिट तथा दुव्र्यवहार गरेको उनको आरोप छ।










