प्रतिनिधि सभा निर्वाचनका लागि १२ दल दर्ता


काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि पहिलो दिन बाह्र वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता कार्यतालिका मंसिर १ गतेदेखि १० गतेसम्म खुला छ। आयोगका अनुसार सोमबार (मंसिर १) पहिलो दिन १२ दलले दर्ता गराएका छन्।

दर्ता गराउने दलमध्ये नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), आम जनता पार्टी (आजपा) र देश विकास पार्टी रहेका छन्। यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लवोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल मानवतावादी पार्टीले पनि दर्ता गराएको आयोगले जनाएको छ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका दलहरूलाई मात्र चुनाव लड्न पाउने प्रावधान रहेको स्पष्ट पारेको छ।

यसैबीच सरकारले राजनीतिक दलहरूलाई निर्वाचन दर्ताका लागि अनौपचारिक रुपमा आग्रह जारी राखेको छ। कतिपय दलहरूले ‘निर्वाचन हुन नसक्ने’ भन्दै आशंका व्यक्त गरिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले दल दर्ताका लागि वातावरण बनाउन नागरिक समाजको साथ समेत खोजेकी छन्।

प्रधानमन्त्री कार्कीले सोमबार नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै मंसिर १० भित्र दल दर्ता गराउन प्रमुख दलहरूको सक्रियता आवश्यक भएको बताइन्।

उनले भनिन्, “संवैधानिक अडानपछि आउने पहिलो चुनौती प्रमुख दलहरूको सहभागिता हो। निर्वाचनको विश्वसनीयताका लागि मंसिर १० गतेभित्र दल दर्ता हुनु हाम्रो पहिलो र अनिवार्य सर्त हो। यही समयसीमा निर्वाचन सुनिश्चितताको प्रमुख सूचक हो।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको