खैरो हिरोइन ओसारपसारमा संलग्न चार जना पक्राउ


काठमाडौं। नेपाल प्रहरीले खैरो हिरोइन ओसारपसार तथा बिक्री वितरणमा संलग्न चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भारतबाट खैरो हिरोइन ल्याई राजधानी काठमाडौंलाई केन्द्र बनाई बिक्री गर्ने तयारीमा रहेका दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सप्तरी, राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगर रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक गरिएको ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।

उनका अनुसार विशेष सूचनाको आधारमा विभिन्न स्थानमा छापा मार्दा देवको काठमाडौं महानगरपालिका-१३, पनेरुगाउँस्थित कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको थियो। त्यस्तै भारतीय नागरिक राजा र देवेन्द्रलाई चन्द्रागिरि नगरपालिका-ढुङ्गे अड्डाबाट नियन्त्रणमा लिँदा उनीहरूको स्कर्पियो गाडीबाट ५९२ ग्राम खैरो हिरोइन बरामद गरिएको जनाएको छ। मोरङका पुष्प मगरको साथबाट कोटेश्वर क्षेत्रमा ९३ ग्राम खैरो हिरोइन फेला परेको सहप्रवक्ता यादवले बताए।

भारतबाट खैरो हिरोइन ल्याएर काठमाडौंमा केन्द्र बनाई व्यापार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको