महोत्तरी। महोत्तरीको औरही नगरपालिका-६ वैरिया निवासी ३० वर्षीय मनोज चौधरीलाई आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौशालाका अनुसार घरायसी विवादका क्रममा उनले २६ वर्षीया पत्नी कविता चौधरीमाथि कैँची प्रहार गरेका थिए।
छाती, कन्चट र हिपतर्फ गम्भीर घाउ लागेका कवितालाई स्थानीयले रामगोपालपुर-९ स्थित जानकी एकेडेमी अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई अस्पताल पुगेलगत्तै मृत घोषणा गरेका थिए।
घटनापछि मनोज चौधरीलाई प्रहरीले तत्कालै घटनास्थलबाट नियन्त्रणमा लिएर गौशालास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको छ। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि बर्दिवास अस्पताल पठाइएको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका प्रारम्भिक अनुसन्धान अनुसार घटना घरायसी विवादपछि सुरु भएको झगडाबाट भएको हो। घटना हुने बेला घरमा दम्पती मात्रै रहेको स्थानीयहरूको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।









