बर्दिबास, महोत्तरी। Gen Z Nepal, औरही नगर समितिले औरही नगरपालिका अन्तर्गत अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द भएको सम्बन्धमा स्पष्ट विवरण उपलब्ध गराउन माग गरेको छ।
समितिका अनुसार २०८२ कार्तिक १६ गते पालिकाले आफ्नो सूचनापाटी मार्फत सम्झौता रद्द भएको जानकारी सार्वजनिक गरे पनि कुन–कुन कर्मचारीको सम्झौता रद्द भएको हो भन्ने विस्तृत विवरण भने स्पष्ट रूपमा उल्लेख नगरिएको कारण जनस्तरमा अन्योलता उत्पन्न भएको छ।
त्यसैले Gen Z Nepal, औरही नगर समिति संयोजक सजित यादवद्वारा मिति २०८२/०७/१८ गते सूचना अधिकारी तथा प्रशासन शाखालाई पत्रमार्फत सो सम्बन्धी पूरा विवरण उपलब्ध गराउन औपचारिक अनुरोध गरिएको छ।
पत्रमा भनिएको छः
“सम्झौता रद्द भएको कर्मचारीहरूको नाम, पद, कार्यस्थान, करार अवधि तथा रद्द गर्ने आधारका सम्बन्धमा स्पष्ट र आधिकारिक विवरण सार्वजनिक पार्नुपर्ने आवश्यकता देखिएको छ। सोही विवरण शीघ्र उपलब्ध गराई दिनहुन अनुरोध गर्दछौँ।”
Gen Z Nepal ले पालिकाका निर्णय तथा प्रशासनिक प्रक्रियामा पारदर्शिता र जिम्मेवारी कायम गर्नुपर्नेमा समेत जोड दिएको छ।










