सिरहा। सिरहाका विभिन्न स्थानबाट लागुऔषध सेवन र बिक्री-वितरणमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
लहान नगरपालिका-११, पडरिया टोलबाट २३ वर्षीय सुजित चौधरीको घरमा छापा मार्दा जम्मा ४.८९ ग्राम ब्राउन सुगर, डिजिटल तराजु, खुर्पा र मोबाईल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, कर्जन्हा नगरपालिका-४, भुलके चौकमा गस्तीका क्रममा गढी नगरपालिका-४, मकवानपुरका २७ वर्षीय रविन कुमार तिमल्सिनाको साथबाट NITRAZEPAM ट्याबलेट १८ पिस बरामद गरी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ।
त्यसैगरी पडरिया टोलमै बस्ने २६ वर्षीय योगेश्वर चौधरीको घरमा खानतलासी गर्दा ७.५५ ग्राम ब्राउन सुगर, कैची, चिलम र स्टिलको चक्कु फेला परेपछि उनलाई पक्राउ गरिएको लहान प्रहरीले जनाएको छ।
सोही टोलका ४३ वर्षीय मनोज चौधरीको घरमा खोजतलासी गर्दा ०.३० मिलिग्राम खैरो हिरोइन जस्तो पदार्थ फेला परेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









