आज रातिदेखि भारी वर्षा हुने सम्भावना, विभागले सतर्कता अपनाउन आग्रह


काठमाडौं। देशका विभिन्न भू–भागमा दिनभर मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्ला २४ घण्टामा ४० मिलिमिटरसम्म वर्षा भएको छ। “४० मिलिमिटरलाई मध्यम वर्षा मानिन्छ। ५० मिलिमिटरभन्दा बढी पुगेपछि मात्रै भारी वर्षा मानिन्छ,” उनले बताए। उनका अनुसार आज रातिदेखि भने वर्षाको मात्रा बढ्दै भारी वर्षा हुने सम्भावना छ।

अधिकारीले बागमती, कोशी र मधेस प्रदेशसहित विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको जानकारी दिए। गण्डकी र लुम्बिनी प्रदेशमा स्थानविशेषमा फाटफुट वर्षा भइरहेको छ। त्यस्तै, गण्डकी तथा बागमती प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसहित वर्षा भएको विभागले जनाएको छ।

विभागका अनुसार बुधबारदेखि शुरु भएको वर्षा कात्तिक १५ गते शनिबारसम्म जारी रहने अनुमान छ। यस अवधिमा सतर्क रहन र आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विशेषगरी पदयात्रा, पर्यटन तथा बाहिरी गतिविधिमा संलग्न व्यक्तिहरूले मौसमबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

हाल धान काट्ने समय रहेकाले किसानलाई पनि सतर्क रहन अनुरोध गरिएको छ। अधिकारीका अनुसार भारी वर्षाको सम्भावना रहेकाले काट्ने बाँकी धान मौसम स्थिर भएपछि मात्र काट्न उपयुक्त हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको