छठ पर्वको आज अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन


गौशला। सूर्यदेवको आराधना र उपासनाको महान पर्व छठ आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न हुँदैछ। चार दिनसम्म मनाइने यस पर्वको आज अन्तिम दिन व्रतालुहरू बिहानै पवित्र नदी, तलाउ र पोखरीमा गई उदाउँदो सूर्यलाई जल चढाई पूजा गरी व्रत समापन गर्दै छन्।

यस पर्वको पहिलो दिन ‘नहाय खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिई ब्रत तोड्ने परम्परा रहिआएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व आज पूर्णताका साथ सम्पन्न हुँदैछ ।

पौराणिक कथाअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । सोही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

छठको अवसरमा व्रतालुहरूले बाँसका ढाकी, माटोका भाँडाकुँडामा सजाइएका प्रसादहरू-जस्तै केरा, मौसमी फलफूल, उखु, ठेकुवा, भुसुवा, अदुवा र अन्य मिठाइहरू सूर्यदेवलाई अर्पण गर्छन् ।

यो अवसरमा देशका विभिन्न ठाउँ, जनकपुरको विभिन्न पोखरी, बर्दिबासको कामेश्वर नाथ महादेवस्थान घाट, गौशालाको मारहा खोला, वीरगञ्जको घडीअर्वा पोखरी, काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, शंखमुल, बल्खु, नख्खु र विष्णुमती नदी किनारालगायतका स्थलहरू आकर्षक रूपमा सजाइएका छन् । व्रतालुहरू बिहानैदेखि ती तीर्थस्थलहरूमा भेला भई श्रद्धा र भक्ति भावले छठ पर्व मनाइरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको