जनकपुर। छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ। बजारमा केराको कारोबार बढेको छ।
छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्। छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारी जनाएका छन्।
अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। त्यसैगरी जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भिड लागेको छ।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो। उहाँका अनसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठुलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेको बताउनुभयो।
गोदाममा पर्याप्त मात्रामा केरा उपलब्ध भएकाले यसपटक व्रर्तालुलाई केराको अभाव नहुने अध्यक्ष यादवले बताउनुभयो। केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ। क्षीरेश्वरनाथ नगरपालिका-५ का रमेश गुप्ताका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य ६०० सयदेखि रु एक हजारसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो।
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा केरा भारतबाट आयात गरिएको छ। स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको फलफूल व्यवसायीको भनाइ छ। महेन्द्रनगरका जीवन फ्रुट सेन्टरका सञ्चालक जीवन साहले भन्नुभयो, “यस वर्ष झण्डै ७२ ट्रक केरा भित्र्याइएको छ।”
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगन्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो।
छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उहाँले बताउनुभयो। “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो, बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५, २० ट्रक बढी केरा मगाइएको छ”, उहाँले भन्नुभयो।
समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी आउँछन्। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख पर्ने उहाँले जानकारी दिनुभयो। बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि एक हजारसम्ममा बिक्री गरिन्छ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ। रासस










