बर्दिवास – असोज १ गते आज हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मा पूजा धुमधामका साथ मनाइरहेका छन् । यस दिन फलामे औजार, सवारीसाधन र कलकारखानाको विशेष पूजा गर्ने प्रचलन छ ।
बिहानै सवारीसाधन धुने, सफा गर्ने र रिबन तथा ध्वजापताका लगाएर रंगीन बनाउनका साथै पूजा अर्चना गरिएको छ । सार्वजनिक सवारीसाधनदेखि निजी गाडी, ग्यारेज र ठूला–सानाठूला कारखानामा औजारको दीर्घायु र व्यवसायिक उन्नतिको कामना गर्दै विशेष पूजा गरिएको हो ।
विश्वकर्मा पूजाको दिन पूजाआजा सम्पन्न गरेपछि दिनभर ती औजार वा सवारीसाधन प्रयोग नगर्ने चलन पनि रहिआएको छ । कतिपयले विश्वकर्माको मूर्ति बनाई पूजा गरी प्रसाद चढाउने गरेका छन् भने पूजापश्चात भोलिपल्ट नजिकैको खोला वा नदीमा मूर्ति विसर्जन गर्ने परम्परा छ ।
यो पर्व विशेषगरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गरेका छन् । जनकपुर, महोत्तरीसहित तराईका विभिन्न जिल्लामा यस अवसरमा भव्य पूजाआजा आयोजना गरिन्छ ।
यस दिन फलामसम्बन्धी व्यवसाय तथा काममा संलग्न श्रमिकलाई बिदा दिने परम्परा पनि छ । फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्छ भन्ने जनविश्वास रहेको छ ।









