बर्दिवास, महोत्तरी। आउँदै गरेको चाडपर्वलाई लक्षित गरी रोट्रयाक्ट क्लब अफ बर्दिबास र रोटरी क्लब अफ बर्दिबासको संयुक्त आयोजना तथा बर्दिबास नगरपालिकाको सक्रिय समन्वयमा आइतबार एक विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
‘सफा वातावरण, स्वस्थ जीवन’ भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा स्थानीय बासी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास, इलाका प्रहरी कार्यालय बर्दिबास, उद्योग वाणिज्य संघ बर्दिबास, लियो क्लब, लायन्स क्लब, होटल व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्था, विद्यार्थी, युवा समूह तथा क्लबका सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत बर्दिबासको मेनचोक क्षेत्र सरसफाइ गर्नुका साथै सार्वजनिक बगैँचामा गोडमेल, वरिपरिको फोहोर व्यवस्थापन, सडक छेउछाउका झाडी सफा गर्ने र वातावरणलाई आकर्षक र व्यवस्थित बनाउने पहल गरिएको थियो। सहभागीहरूले आफू–आफ्ना घर आँगन र सार्वजनिक स्थललाई नियमित रूपमा सफा राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
क्लबका अध्यक्ष सरोज गजमेरले भन्नुभयो, “हामी सबैले आफ्नो घर, टोल र वरिपरिको सरसफाइलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश यो अभियानले दिन खोजेको हो। आउँदै गरेको चाडपर्वमा सफा र व्यवस्थित वातावरणले मात्र हाम्रो उत्सवलाई रमाइलो र स्वास्थ्यप्रद बनाउन सक्छ। सरसफाइलाई संस्कारको रूपमा आत्मसात गर्न सके हामीले स्वस्थ र सभ्य समाज निर्माण गर्न सक्नेछौँ।”
सो अवसरमा क्लबका पदाधिकारी तथा सरसफाइमा संलग्न स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै प्रभावकारी सामाजिक अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो। साथै, नगरपालिकाले पनि यस किसिमका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने र नागरिक–स्तरबाटै सफा, हरित र सुरक्षित शहर निर्माणमा सघाउने वाचा गरेको छ।
यस्तै, सहभागी संघसंस्थाका प्रतिनिधिहरूले सरसफाइलाई केवल पर्व वा विशेष अवसरमा सीमित नगरी दैनिक जीवनशैलीमा नियमित रूपमा अपनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सामूहिक प्रयास, सचेतना र एकताको माध्यमबाट बर्दिबासलाई प्रदेशकै ‘आदर्श सफा शहर’ मात्र नभई ‘मोडेल शहर’ का रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि यस्तो अभियानले समुदायमा सकारात्मक ऊर्जा भर्ने, सरसफाइप्रतिको चेतना जगाउने र भविष्यमा यसलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरेका थिए।









