बर्दिवास – सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र देशमा व्याप्त भ्रष्टाचारको विरोधमा जेनजी पुस्ताले सोमबार दिउँसो बर्दिवासमा प्रदर्शन गरेका छन्।
देशभरका जेनजी युवाले आयोजना गरेको स्वतःस्फूर्त आन्दोलनअन्तर्गत बर्दिवासमा युवाको समूहले मुख्य चौक हुँदै नगर परिक्रमा गरेपछि सिन्धुली रोड तीनकुनेमा कोणसभा गरेका थिए।
कोणसभामा बोल्दै युवा विजय पोखरेलले सरकार नागरिकको अधिकारमा बारम्बार हस्तक्षेप गरिरहेको आरोप लगाए। उनले सरकारको संरक्षणमा भ्रष्टाचार मौलाएको र त्यसविरुद्ध सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएको उल्लेख गर्दै सामाजिक सञ्जाल बन्द गरेपछि सडक आन्दोलनको विकल्प नरहेको बताए।










