सर्लाही – वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षा दिन आएका छोरा रंगेहात पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका – ३ छपकैंयाका २४ वर्षीय मोहम्मद आफताब रहेका छन्। पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार आफताब आफ्ना बुवा तथा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद साहबुद्दिनको सट्टा परीक्षा दिइरहेका थिए।
स्नातकोत्तर तहको नेपाल पोलिटिकल एण्ड कल्चर विषयको परीक्षा आइतबार दिउँसो डेढ बजे दिँदै गर्दा आफताब पक्राउ परेका हुन्। क्याम्पस प्रमुख मोहनप्रसाद यादवका अनुसार सूचना प्राप्त भएपछि परीक्षा हलमै जाँच गर्दा उनी नक्कली परीक्षार्थी रहेको खुलेको हो।
‘रोल नम्बर १५२७०२३ को प्रवेशपत्रमा आफ्नै तस्बिर टाँसेर बुवाको नाममा परीक्षा दिइरहेको फेला परेको हो,’ यादवले बताए। उनका अनुसार आफताब यसअघि पनि तेस्रो सेमेस्टरको परीक्षामा सहभागी भएका थिए।
आफताबलाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले नियन्त्रणमा लिएर लगेको प्रहरीले जनाएको छ। घटनाबारे त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार तथा डिनलाई समेत जानकारी गराइएको छ।
प्रहरीका अनुसार, आफताब र परीक्षामा नक्कली परीक्षार्थी पठाउने साहबुद्दिन दुवै विरुद्ध त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कानुनी कारबाही अघि बढाइनेछ।









