महोत्तरीमा दलितमाथि आक्रमण, ४ जना गम्भीर घाइते पीडितको न्याय माग्दै चमार समाज आन्दोलित


महोत्तरी – महोत्तरीको औरही नगरपालिका – ३ मा आइतबार राति दलित (चमार) समुदायमाथि विभत्स आक्रमण भएको छ। गैरदलित यादव समुदायका समूहले घरमै पसेर ४ जना दलितलाई कुटपिट गर्दा उनीहरू गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा ६० वर्षीय फेकन राम, ५५ वर्षीया रामपति देवी चमार, १७ वर्षीया चन्दा राम र १४ वर्षीया पिंकी राम रहेका छन्। उनीहरू हाल गौसला स्थित सरकारी अस्पतालमा उपचाररत छन्।

अन्तर्जातीय विवाहकै बदला

पीडित पक्षका अनुसार करिब दुई वर्षअघि फेकन रामकी ससुरीलीका भतिज धर्मेन्द्र महराले रामदुलार यादवकी छोरी सबिता यादवसँग अन्तर्जातीय विवाह गरेका थिए। विवाहपछि उनीहरूलाई एक सन्तान समेत भएको छ। यही घटनाको बदला स्वरूप यादव समुदायका व्यक्तिहरूले आक्रमण गरेको आरोप लगाइएको छ।

“चमारहरूको छोरी उठाउनुपर्छ” भन्दै आक्रमण

फेकन रामले बताएअनुसार रामदुलार यादव, धीरज यादव, उमेश यादव र प्रेमकला यादवलगायतले भीड जम्मा गरी जातीय गालीसहित आक्रमण गरेका थिए। घटना हुँदा घरमा पुरुष सदस्य नभएको अवसर छोपी महिलामाथि समेत निर्मम आक्रमण गरिएको पीडितको भनाइ छ।

स्थानीय जनप्रतिनिधि माथि संरक्षणको आरोप

पीडितले वडाध्यक्ष रामकेवल यादवमाथि दोषीलाई संरक्षण दिने गरेको आरोप लगाएका छन्। यसले दलित समुदायमा अझ ठूलो असुरक्षा र आक्रोश बढाएको छ।

प्रहरी मौन, समाज आक्रोशित

प्रहरीले भने घाइतेहरूको उपचारपछि मात्र उजुरी दर्ता भए कानूनी कारबाही अघि बढाइने जनाएको छ। तर दलित समुदायले प्रहरीको मौन भूमिकामाथि प्रश्न उठाएका छन्।

यसैबीच, चमार कल्याण समाज नेपालले घटनाको घोर निन्दा गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिमालसँग तत्काल सम्पर्क गरी दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको