१४ भदौ, जनकपुर।
जनकपुरधाममा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एक व्यक्ति घाइते भएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सो क्रममा देवपुरा रुपैठाका २९ वर्षीय लक्ष्मण मुखियाको दुवै घुँडामा गोली लागेको छ। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
झडपमा सात जना प्रहरी र केही सर्वसाधारण पनि घाइते भएका छन्। घाइते सातै जना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना जनकपुरधाम उपमहानगरपालिका – २० देवपुरा रुपैठास्थित झण्डाचोकमा भएको हो। त्यहाँ टावरलाइट जडान भएको पोलमा राखिएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच विवाद भई झडप भएको थियो। सो क्रममा प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको थियो।
डिएसपी सिंहका अनुसार अवस्था हिजैदेखि तनावपूर्ण बनेको हो। आज दुवै पक्षका भलादमी र प्रहरी प्रशासनबीच छलफल गरी सो पोलमा दुवै समुदायका झण्डा हटाउने सहमति भएको थियो। तर सहमति कार्यान्वयनका क्रममा पुनः झडप चर्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रयोग गरेको थियो।











