वीरगंजमा चोरी गर्दै आएका युवक गाँजा र १५ लाख नगदसहित पक्राउ


१५ भदौ, वीरगंज – अनुराग कुमार यादव।

जिल्ला प्रहरी कार्यालय पर्साले चोरी र लागुऔषध कारोबारमा संलग्न एक युवकलाई ठूला परिमाणको गाँजा र नगदसहित नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका – १६ बस्ने ३५ वर्षीय शेख साहेबजान मियाँ (मखु) रहेका छन्। उनी विगतमा पनि पटक – पटक चोरीसम्बन्धी कसूरमा सजाय भोगिसकेको पाइएको छ।

मौलापुर नगरपालिका – १, रौतहटका रामपुकार प्रसाद यादवको घरबाट रु. १ लाख २९ हजार ८ सय भारतीय रुपैयाँ, रु. १ लाख २५ हजार नेपाली रुपैयाँ र सुन – चाँदीका गहना चोरी भएको घटनाको अनुसन्धान क्रममा सीसीटीभी फुटेजको आधारमा मियाँ पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा ९ किलो ८०९ ग्राम गाँजा, डिजिटल तराजु, विभिन्न सुन–चाँदीका गहना र श्रोत नखुलेको रु. १५ लाख १५ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

बरामद गहनामा सुनका झुम्का, नाकको नथिया, माङ टिका, सिक्रीसहितको लकेट, टप, चाँदीका पायल र माठा रहेका छन्। पक्राउ परेका मियाँविरुद्ध चोरी र लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको