राजविराजमा सहिद राममनोहर यादवको स्मृति दिवसमा दीप प्रज्वलन


१५ भदौ, राजविराज – चन्दन रजक।

स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको आठौं स्मृति दिवसको अवसरमा जनमत पार्टी सप्तरीले आइतबार राजविराजस्थित नेता चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहिद यादवको तस्वीरमा माल्यार्पण गर्दै उनको योगदान र साहसको चर्चा गरिएको थियो। कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य पिंकी भगत, प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष अवधेश झा, सह-अध्यक्ष आर.एन. विश्वास, केन्द्रीय सदस्य चन्दन रजक, जनमत पार्टी सप्तरीका जिल्ला इन्चार्ज रामगमन साह लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले स्व. राममनोहर यादवलाई स्वराज आन्दोलनका एक होनहार, निडर, संगठनप्रति इमानदार र जोसिला युवा नेताको रूपमा स्मरण गरे। उहाँ तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला कमाण्डर समेत रहनु भएको थियो।

स्मरणीय छ, २०७५ भाद्र ७ गते बर्दियामा आयोजित कार्यक्रममा तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष एवं तत्कालीन उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेका बेला राममनोहरलाई प्रश्न सोध्ने क्रममा पक्राउ गरिएको थियो। त्यसपछि उनीमाथि कालो झण्डा देखाएको आरोप लगाउँदै राज्यविरुद्धको मुद्दा दायर गरी प्रहरी हिरासतमा यातना दिइएको थियो।

उच्च रक्तचापका बिरामी रहेका राममनोहरलाई नियमित औषधि खान नदिएको, परिवारसँग भेट्न वञ्चित गराइएको र उपचारमा ढिलासुस्ती गरिएकै कारण २०७५ भाद्र १५ गते काठमाडौं लैजाने क्रममा उनको मृत्यु भएको जनमत पार्टीका नेताहरूले बताएका छन्।

दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी नेताकार्यकर्ताहरूले सहिद राममनोहर यादवको तस्वीरमा फूल, अबिर चढाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको