१३ भदौ, धनुषा – अनुराग कुमार यादव।
गणेशमान चारनाथ नगरपालिका – ६ मा अवस्थित राजकुमार मोबाइल पसलको सटरको ताला फोडी करिब १० लाख रुपैयाँ बराबरको सामान चोरी भएको छ।
प्रहरीका अनुसार चोरी भएका सामानमा ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर्ड ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च तथा नगद रु. ९८,७६५ सहित करिब रु. १० लाख बराबरको क्षति पुगेको छ।
पसलमा जडान गरिएको सिसीटिभी फुटेजको सहायताले चोरीमा संलग्न तीन जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गणेशमान चारनाथ – ७ का २० वर्षीय अर्जुन मुखिया, सोही वडाका १९ वर्षीय सेकेन्दर पासवान र गणेशमान चारनाथ – ५ का २२ वर्षीय कृष्ण मण्डल रहेका छन्।

पक्राउ परेकाको साथबाट विभिन्न कम्पनीका १२ थान मोबाइल (एन्ड्रोइड र बटन सेट), घडी, क्यामेरा स्ट्यान्ड, मोबाइल चार्जर, ग्लास, लेन्स लगायतका सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूविरुद्ध चोरी तथा डाका सम्बन्धी कसूर मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जाटाशंकर यादवले जानकारी दिएका छन्।











