१३ भदौ, सर्लाही – अनुराग कुमार यादव।
विशेष सूचनाका आधारमा सर्लाही प्रहरीले सञ्चालन गरेको कारबाहीमा २५ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् भने अर्का व्यक्ति फरार भएका छन्।
बिहीबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोक नजिक चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको टोलीले बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकल रोकेर कारबाही गरेको हो।
प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार दुईजनाले सवारीसाधन र झोला छोडेर भाग्ने प्रयास गरेका थिए। त्यस क्रममा सर्लाही, लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई नियन्त्रणमा लिन सफल भए पनि अर्का व्यक्ति भने फरार भएका छन्।
मोटरसाइकलमा रहेका दुईवटा कालो झोलामा रातो प्लास्टिकमा प्याक गरिएको ५/५ किलोका गरी जम्मा २५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकसहित बरामद गाँजा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको र पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्। फरार व्यक्तिको खोजी जारी रहेको पनि उनले बताए।









