बारामा वडाध्यक्षद्वारा शिक्षक कुटपिट, अपहरण र ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान


१० भदौ, बारा । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष वृजकिशोर कुशवाहा शिक्षकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई प्रहरीले अपहरण र ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।

साउन २८ गते प्रसौनी–६, बेलहियामा बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्षले कुटपिट गरेका थिए। पीडित यादवले दिएको जाहेरीका आधारमा प्रहरीले कुशवाहालाई पक्राउ गरेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए।

कुटपिट गरेको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाप्रति व्यापक चासो बढेको छ। घटनामा वडाध्यक्ष कुशवाहाले पीडितलाई अर्धनग्न अवस्थामा हात बाँधेर अन्य व्यक्तिहरूको सामुन्ने कुटपिट गरेको देखिन्छ।

पीडित शिक्षक यादव महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरस्थित भोला माध्यमिक विद्यालयमा कार्यरत छन्। उनी निजी ट्युसन सेन्टर पनि सञ्चालन गर्दै आएका छन्।

विद्यार्थिनीहरूसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै वडाध्यक्षले शिक्षकलाई कार्यालयमा बोलाएर कुटपिट गरेको बताइएको छ। पीडितले कुटपिटको समयमा वडाध्यक्ष मादक पदार्थ सेवन गरेर आएका थिए भन्ने दाबी गरेका छन्।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष कुशवाहा हाल प्रहरी नियन्त्रणमा छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको