३ भदौ, रौतहट – चन्द्रपुरकी रोशनी कुमारी साह अंशबण्डा विवादको मुद्दामा दुईथरी कथा सुनाउँदै अदालतसम्म झुटो विवरण पुर्याएको खुलासा भएको छ। श्रीमान मिश्रीलाल साहले आफ्ना सन्तानको हकमा सुरक्षित गर्न दर्ता गराएको जग्गाबारे रोशनीले अदालतमा पेश गरेको विवरण वास्तविक कागजातसँग मेल नखाएको प्रमाण खुलेको हो।
रोशनीले रौतहट जिल्ला अदालतमा दायर प्रतिउत्तरमा ३७०२ नम्बरको ०–०–८–८ क्षेत्रफल भएको जग्गा आफ्नी दिदी ललिता कुमारी रौनियारसँग १९ लाख रुपैयाँ ऋण लिएर खरिद गरेको बताएकी थिइन्। उनले अझै ऋण बुझाउन बाँकी रहेको दाबी गर्दै अदालतलाई आफ्नो पक्षमा तान्न खोजिन्।
तर, मालपोत कार्यालय चन्द्रनिगाहपुरबाट प्राप्त आधिकारिक लिखत फरक कुरा बोल्छ। सो जग्गा रोशनी साहले २०७६ साल असोज ८ गते गणेश पौडेलबाट जम्मा ५ लाख १० हजार रुपैयाँमा खरिद गरेकी पाइएको छ। रजिष्ट्रेशन दस्तुरसहित कुल रकम करिब ५ लाख ३० हजार मात्र भएको विवरणमा स्पष्ट देखिन्छ। यसरी पाँच लाखमै खरिद गरिएको जग्गालाई १९ लाख ऋण लिएर किनेको भन्दै अदालतलाई गुमराहमा राख्नु प्रत्यक्ष कानुनविपरीत भएको कानुनविद्हरूको भनाइ छ।
श्रीमान मिश्रीलाल साहले समेत रोशनीको दाबीलाई असत्य ठहर गर्दै भने, “मैले आफ्ना सन्तानको भविष्य सुरक्षित गर्न सस्तोमा पाएको जग्गा आफ्नै श्रीमतीको नाममा दर्ता गरिदिएको हुँ। तर, पछि थाहा पाउँदा उनी दिदी–भिनाजुको नाममा पास गर्ने तयारी गर्दैछिन्। त्यसैले बाध्य भएर अंशबण्डाको मुद्दा हाल्नुपर्यो।”
उनले रोशनीको ‘१९ लाख ऋण’ को दाबी असम्भव भएको दाबी गर्दै प्रश्न उठाए, “मेरा भिनाजु प्रहरी सेवामा साधारण कर्मचारी हुन्। उनको तलबमा त्यति ठूलो रकम सापटी दिनै सक्दैनन्। यदि दिएको भए, त्यो कानुन विपरीतको कमाइबाट हो भन्नुपर्छ, नभए अदालतलाई झुट बोलिएको हो भन्ने स्वीकार्नुपर्छ।”
यता, पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा भने रोशनी साह आफैंले श्रीमानकै सहयोगमा जग्गा किनेको स्वीकारेकी छिन्। अदालतमा भने उल्टो बयान दिएपछि उनीमाथि ‘मिडिया, समाज र न्यायालयलाई गुमराहमा राख्ने खेल’ गरेको आरोप लागेको छ।
कानुन व्यवसायीहरू भन्छन् – “अदालतमा असत्य विवरण पेस गर्नु केवल पारिवारिक विवाद मात्र होइन, कानुनी अपराध पनि हो। यस्ता मुद्दामा प्रमाणित भएपछि कानुनअनुसार सजाय हुन्छ।”



















