३ भदौ सिराहा, औरही — सिराहा जिल्लाको औरही गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादवलाई कार्यालय प्रयोजनका लागि उपलब्ध गराइएको सरकारी स्कारपियो गाडी दुरुपयोग भएको तथ्य सार्वजनिक भएको छ।
स्थानीयवासीका अनुसार सोमबार साँझ करिब ७ बजे उपाध्यक्ष यादवकै देवर राजबनसी यादवले उक्त गाडी चलाएर पान–गुटखा किन्न गएको दृश्य देखिएको हो। कार्यालय प्रयोजनका लागि तोकिएको सरकारी सवारीलाई व्यक्तिगत र सामान्य काममा प्रयोग गर्नु जनताको करको पैसामाथि गरिएको ठाडो अपमान भएको उनीहरूको भनाइ छ।
एक स्थानीय शिक्षकले भने, “जनताको पैसाले किनेको स्कारपियो पान–गुटखा खान प्रयोग गर्ने हो भने, के गाउँपालिका जनताको मनोरञ्जन क्लब हो ? यस्तो निर्लज्जता सह्य छैन।”
त्यस्तै, एक व्यवसायीले आक्रोश व्यक्त गर्दै भने, “हामी पसिना बगाएर कर तिर्छौं, तर नेताको परिवारले सरकारी गाडीलाई व्यक्तिगत साधन बनाउन पाउनु जनताको अपमान हो। यो त सार्वजनिक सम्पत्तिको चोरीजस्तै हो।”
युवाहरूले पनि व्यंग्य गर्दै प्रश्न उठाएका छन्, “गाउँपालिकाको स्कारपियो जनताको सेवा गर्न नभई पान–गुटखा भर्न प्रयोग हुने हो भने, यस्ता जनप्रतिनिधिलाई मत दिनुको अर्थ के ?”
स्थानीयवासीको भनाइमा, कार्यालय समय बाहिर उपाध्यक्षकै देवरले सरकारी गाडी चलाउनु गैरकानुनी मात्र नभई सत्ता र पहुँचको दुरुपयोगको स्पष्ट उदाहरण हो। यसले गाउँपालिकामा सुशासन र जवाफदेहीताको सवाललाई गम्भीर प्रश्नचिन्ह लगाएको उनीहरूको आरोप छ।









