३०साउन, पनौती, काभ्रे – जिवन राज दाहाल।
विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा आज एक ऐतिहासिक क्षण थपिएको छ । हालै विश्वकै अग्लो शिव त्रिशूल निर्माण सम्पन्न गरी धार्मिक तथा सांस्कृतिक चर्चा पाएको यस पवित्र पीठमा, ७७ जिल्लाको रथयात्रा र राष्ट्रिय कोटिहोमपछि, पुनः अर्को गौरवमयी कार्य सम्पन्न भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे र सन्तसमाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट, ६.५ केजी शुद्ध चाँदीबाट निर्मित लड्केश्वर धामको विशेष निशानी आज विधिवत अनावरण गरिएको छ ।
गरिमामय समारोहमा प्रा.डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिङ्गका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ तथा समाजसेवी मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, वडा अध्यक्ष बिपिन लामा, प्रवक्ता मधुसुधनजी, पीठाचार्य अरुण कुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुहरू तथा दानदाता भक्तजनहरूको उपस्थितिले कार्यक्रम विशेष बनायो ।
कार्यक्रममा श्री १००८ स्वामी रमणानन्द महाराजले कालाग्नि रुद्रपीठको स्थापना र पाशुपतास्त्रको (त्रिशूल) निर्माणलाई देशका सबै संकट टार्ने शुभसंकेतका रूपमा व्याख्या गर्दै, “राजा, नेता र जनता – सबैले विगतका गल्तीका लागि भगवान शिवसँग क्षमा मागी, राष्ट्र समृद्धितर्फ अघि बढ्नु आवश्यक छ” भन्ने सन्देश दिनुभयो ।
त्यसै अवसरमा मन्त्री पाण्डेले लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यको रूपमा सूचीबद्ध गर्ने घोषणा गर्दै, पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनले शिवको पाशुपतास्त्रको दर्शन पनि गर्न सक्ने सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रको गौरव, शिव त्रिशूलको निर्माणमा अहोरात्र लागिपरेका पीठाधीश मुकुन्द शर्मा हुमागाईंको योगदानप्रति आभार पनि प्रकट गर्नुभयो ।
पीठाधीश मुकुन्द शर्मा हुमागाईंले अब “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” अन्तर्गत हरेक जिल्लामा शास्त्रीय मर्यादामा रहेर यो निशानी लैजाने र दर्शन गर्न नपाएका भक्तजनलाई पनि लड्केश्वरको दर्शन सरह अनुभव गराउने योजना सार्वजनिक गर्नुभयो । यात्राको सुरक्षा र समन्वयका लागि गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार भइसकेको र यात्राका लागि विशेष रथ समेत तयार भइसकेको जानकारी उहाँले दिनुभयो ।









