२६ साउन, महोत्तरी।
महोत्तरी जिल्लाको बलवा नगरपालिका–३, वदियास्थित रातु नदीमा आएको आकस्मिक बाढीमा परेर एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृतक महोत्तरी गाउँपालिका–३, डाम्हीका ३५ वर्षीय चन्दन ठाकुर रहेका छन्। ठाकुर पडौलमा ट्याक्टरको डिजेल किनेर साइकलसहित घर फर्किने क्रममा झोलुँगे पुल पार गर्न खोज्दा नदीमा खसेका थिए।
स्थानीयवासीका अनुसार, उत्तरतर्फको लगातार वर्षाले रातु नदीमा पानीको बहाव अत्यधिक भएको थियो। उनीहरूका चेतावनी बेवास्ता गर्दै ठाकुरले पिठ्युँमा साइकल बोकेर पुल पार गर्न खोज्दा चिप्लिएर बगेका हुन्। तत्काल उद्धार प्रयास भए पनि तीव्र पानीको बेगका कारण उनलाई बचाउन सकिएन।
प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार, शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जलेश्वरमा गरी सोमबार परिवारको जिम्मा लगाइएको छ।









