सरकारी गाडी सिक्ने क्रममा अध्यक्षका छोराद्वारा दुर्घटना


१८ साउन, औरही, सिराहा – भोगेन्द्र कुमार यादव।

सिराहा जिल्लास्थित औरही गाउँपालिका फेरि एकपटक विवादमा मुछिएको छ। गाउँपालिका अध्यक्ष शिवजी यादव तीर्थ यात्राका लागि भारत भ्रमणमा रहँदा गाउँपालिकाको नाममा लिइएको सरकारी गाडी अध्यक्षका छोरा रुकेश कुमार यादवले व्यक्तिगत रूपमा प्रयोग गर्दै आइरहेका थिए। यही गाडी शुक्रबार बिहान कुट्टी नजिकै दुर्घटनामा परेपछि घटनाले गम्भीर मोड लिएको छ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, रुकेश यादव सो गाडी चलाउन सिक्ने क्रममा थिए र गति तथा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। गाडी वडा नं. ३ र ५ को सिमानामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। यद्यपि, यस दुर्घटनामा मानवीय क्षति नभए पनि सरकारी गाडीमा व्यापक क्षति पुगेको बताइएको छ।

घटना ढाकछोप गर्ने प्रयास

दुर्घटना भएको दुई दिन बितिसक्दा पनि गाउँपालिका प्रशासन र स्थानीय प्रहरी मौन छन्। न कुनै औपचारिक सूचना जारी गरिएको छ, न त दोषीको पहिचानका विषयमा खुलासा गरिएको छ। स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन् कि राजनीतिक दवावका कारण प्रहरी चौकी औरहीले पनि घटना छोपछाप गर्न भूमिका खेलिरहेको छ।

दुर्घटनाको समाचार बाहिरिन नदिने खेल भइरहेको छ,” एक स्थानीय अधिकारकर्मीले बताए, “उल्टै, गाडी क्षति पूर्तिको माग पीडितमाथि नै थोपर्न खोजिएको छ।

यो घटनाले सार्वजनिक सम्पत्तिको दुरुपयोग मात्र नभई सत्ताको आडमा कानुनको उपेक्षा गरिएको भन्दै स्थानीयहरू आक्रोशित छन्। उनीहरूले निम्न प्रश्नहरू उठाएका छन्:

गाउँपालिकाको गाडी अध्यक्ष बाहिर हुँदा कसको निर्देशनमा छोरा प्रयोग गर्दै थिए?

गाडी सिक्ने क्रममा प्रयोग भएको व्यक्तिसँग चालक अनुमतिपत्र (लाईसेन्स) थियो वा थिएन?

दुर्घटना भएको यति समय बित्दा पनि प्रहरी किन मौन छ?

घटनाको छानबिन गर्न कुनै पहल किन भएको छैन?

घटनापछि स्थानीय बासिन्दा, युवा समूह र अधिकारकर्मीहरूले संयुक्त रूपमा गाउँपालिका अध्यक्ष, उनका छोरा र स्थानीय प्रहरी प्रशासनलाई जवाफदेही बनाउन माग गरेका छन्। उनीहरूले उच्चस्तरीय छानबिन समिति गठन गरी:

दोषीलाई कारबाही गर्न,

गाडी क्षतिको जिम्मेवारी लिन बाध्य पार्न,

सार्वजनिक सम्पत्तिको प्रयोगमा देखिएको लापरवाहीबारे स्पष्ट नीति ल्याउन

यो घटना केवल गाडी दुर्घटनाको सानो प्रसंग होइन। यो सार्वजनिक सम्पत्तिलाई निजी सम्पत्तिको रूपमा प्रयोग गरिनु, जवाफदेहिताको अभाव, अनि कानुनमाथि सत्ताको दवावको स्पष्ट उदाहरण हो। यदि यस्ता क्रियाकलापहरूलाई रोक्न तत्काल ठोस कदम चालिएन भने, जनताको सम्पत्ति लापरवाहीले चकनाचुर पार्न धेरै समय लाग्ने छैन, स्थानीयहरूले चेतावनी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको