महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले आज महोत्तरीको मटिहानीमा नवनिर्मित प्रसूति गृह तथा पुलको उद्घाटन गर्नुभएको छ।
मटिहानी नगरपालिका–६ मा निर्माण गरिएको प्रसूति गृह भवनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुभएको हो। उक्त भवन संघीय सरकारको विशेष अनुदान र नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार प्रसूति गृहको निर्माणमा करिब १ करोड ८८ लाख रुपैयाँ लागत लागेको छ।

नगरप्रमुख मण्डलका अनुसार मटिहानी नगरपालिका अन्तर्गत सञ्चालित बर्थिङ्ग सेन्टरमा मासिक १५ देखि २० जनासम्म सुरक्षित प्रसूति सेवा दिइँदै आएको छ। जटिल अवस्थाका सुत्केरीलाई प्रायः निजी नर्सिङ होमहरूमा पठाउनु पर्ने बाध्यता रहेकाले आर्थिक भार न्यून गर्न अत्याधुनिक सेवा सुविधासहितको प्रसूति गृहको आवश्यकता महसुस गरिएको हो।
प्रधानमन्त्री ओलीले आजै मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्माण सम्पन्न भएको पुलको समेत उद्घाटन गर्नुभएको छ।










