जनकपुरधाममा होटलमा युवकको हत्या, युवती फरार


४ श्रावण, जनकपुरधाम, मधेश प्रदेश — जनकपुरधामस्थित एक होटलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।

धनुषा प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१ पर्सा निवासी २८ वर्षीय बिमलेश यादव (शनि) को शनिबार राति करिब ३ बजेतिर जनकपुर उपमहानगरपालिका–१२, जिरोमाइलस्थित ‘होटल एसपी एन्ड गेस्ट हाउस’मा हत्या भएको हो।

यादवलाई धारिलो हतियार प्रहार गरिएपछि होटलको माथिल्लो तलाबाट तल खसालिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइए पनि उपचारका क्रममा आइतबार बिहान ७:४५ बजे मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार यादव घटनाको राति एक युवतीसँग होटलमा बसेका थिए। प्रारम्भिक अनुसन्धानमा ती युवतीकै संलग्नतामा हत्या भएको आशंका गरिएको छ। घटनापछि उनी फरार भएकी छन्।

‘घटनाको प्रकृति हेर्दा योजनाबद्ध हत्या भएको आशंका गर्न सकिन्छ,’ एक अनुसन्धान अधिकृतले नाम नखुलाउने सर्तमा बताए, ‘फरार युवतीको खोजी जारी छ।’

प्रहरीले घटनास्थलबाट केही प्रमाण संकलन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको