समृद्धिको लागि वन परियोजनाअन्तर्गत सिरहाका तीन पालिकामा अनुगमन


३ साउन, सिरहा  – मधेश प्रदेश सरकार अन्तर्गत सञ्चालित ‘समृद्धिको लागि वन परियोजना’ अन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा सिरहा जिल्लाको नवराजपुर, बरियारपट्टी र औरही गाउँपालिकामा सञ्चालनमा रहेका कार्यक्रमहरूको शुक्रबार अनुगमन गरिएको छ।

मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवको नेतृत्वमा सम्पन्न उक्त अनुगमन टोलीले सम्बन्धित पालिकाको वन तथा वातावरण शाखामार्फत सञ्चालित कार्यक्रमहरूको स्थलगत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा कार्यक्रमको प्रभावकारिता, पारदर्शिता तथा स्थानीय लाभग्राहीको सहभागिता विषयमा सरोकारवाला निकायसँग समन्वय गरिँदै जानकारी लिइएको थियो।

मन्त्री यादवले स्थलगत अवलोकनपछि कार्यक्रमहरूबाट प्राप्त उपलब्धि र देखिएका चुनौतीहरूको समीक्षा गर्दै आगामी दिनमा आवश्यक समायोजन तथा सहयोगका लागि मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

यस अवसरमा परियोजनाका प्रमुख सुजित कुमार झाले अनुगमन कार्यमा सक्रिय सहभागिता जनाउने पालिका अध्यक्ष, वडाध्यक्ष, प्राविधिक कर्मचारी तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्दै, “सबैको सहकार्य र सहभागिताबाट मात्रै परियोजनाले लक्षित उद्देश्यहरू हासिल गर्न सक्छ,” भने।

‘समृद्धिको लागि वन परियोजना’ ले प्रदेशका स्थानीय तहमा वन संरक्षण, वातावरणीय सुधार, आयमूलक कार्यक्रम र सामुदायिक चेतना अभिवृद्धि जस्ता पहलहरूलाई प्राथमिकतामा राख्दै कार्यान्वयन गरिरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको