१ साउन, सिरहा – भोगेन्द्र कुमार यादव
सिरहा जिल्लाको बिधुत प्राविधिक कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई पार्किङको मामिलामा अनावश्यक अपमान र असहजताको सामना गर्नुपरेको छ। कार्यालय परिसरमा पर्याप्त ठाउँ हुँदाहुँदै पनि सर्वसाधारणको मोटरसाइकल पार्किङमा रोक लगाइएको छ। गेटमा खटिएका सुरक्षाकर्मीहरू सेवाग्राहीलाई गेटबाहिरै राख्न बाध्य पार्छन् भने, सोही गेटबाट कर्मचारी र आन्तरिक सवारी सहजै प्रवेश गर्छन्।
सेवा लिन आएका नागरिकलाई गेटमै रोक्ने, तर आफ्ना मान्छेलाई सिधै छिर्न दिने? यो दृश्यले सरकारी कार्यालयमा समान व्यवहारको धज्जी उडाएको छ। सेवा लिन आएका एक व्यक्तिले भने, मोटरसाइकल राख्न पाउनु पर्ने ठाउँमै गेट गार्डले रोकेको छ, हामी जनता सेवाका लागि आएको कि सजायको लागि?
पार्किङसम्बन्धी समस्याबारे बिधुत प्राविधिक कार्यालयका इन्जिनियर वासुदेव नाथ झासँग जिज्ञासा राख्दा उनले विभिन्न बहाना र टार्ने शैली अपनाएको सेवा ग्राहीहरूको गुनासो छ। “पार्किङको ठाउँ छैन यो हाम्रो नीतिगत व्यवस्था हो हाम्रो हातमा छैन यस्ता टिपिकल जवाफले जनताको आक्रोश बढाएको छ।
अन्ततः प्रश्न उठ्छ:
सार्वजनिक सेवा दिने ठाउँमा सर्वसाधारणले सेवा होइन सास्ती किन भोग्नुपर्छ?
के कार्यालय भित्रको सुविधा केवल कर्मचारीका लागि मात्र हो?
सिरहा बिधुत प्राविधिक कार्यालयमा देखिएको यो स-सानो तर गम्भीर बेवास्ता, शासनको चरित्र झल्काउने एउटा प्रतिनिधि उदाहरण बनेको छ। नियमको नाममा भएको यो ‘सूक्ष्म अन्याय’ अब टुलुटुलु हेर्ने होइन, सच्याउनुपर्ने अवस्था भइसकेको छ।









