खानेपानी संकट समाधानमा प्रदेश सरकार सक्रिय, ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाइयो


३२ असार, वीरगञ्ज –

वीरगञ्जसहित मधेस प्रदेशका विभिन्न स्थानमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील भएको छ। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार बुधबार बिहान प्रदेश सरकारले आफ्नो व्यवस्थापनमा रहेका ८ वटा वारुणयन्त्र संकटग्रस्त क्षेत्रहरूमा पठाएको छ।

मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रहरूलाई प्रभावित क्षेत्रतर्फ पठाउँदै भने, “खानेपानी समस्या समाधानमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध र सक्रिय छ।”

प्रत्येक वारुणयन्त्रबाट ५ हजार लिटर पानी ढुवानी हुने भएकाले एकपटकमा ४० हजार लिटर पानी वितरण हुने जनाइएको छ। यी वारुणयन्त्रहरू २४ सै घण्टा परिचालनमा रहनेछन्। वारुणयन्त्रहरूको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भने सञ्चालनको जिम्मेवारी नेपाली सेनाले लिनेछ।

यसअघि प्रदेश सरकारले डिभिजन वन कार्यालय अन्तर्गत रहेका तीन वटा पानी ट्याङ्करलाई पनि प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ। साथै, नेपाली सेनामार्फत थप ७ वटा ट्याङ्कर र १ वटा वारुणयन्त्र पठाउने तयारी समेत गरिएको छ।

मुख्यमन्त्री सिंहले संघीय सरकार, स्थानीय तहहरू तथा मानवीय सहायता कार्यमा सक्रिय दातृ निकायहरूसँगको समन्वयमा स्रोतसाधनको अधिकतम उपयोग गरी नागरिकको समस्या समाधानमा सरकार दृढतापूर्वक लागिपरेको स्पष्ट पारे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको