जनमत पार्टी सप्तरी: निलम्बित नेताहरूलाई साधारण सदस्यबाट पनि निष्कासन सिफारिस


२९ असार, सप्तरी — जनमत पार्टीको सप्तरी जिल्ला प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न रहेका निलम्बित उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवसहितका नेताहरूलाई साधारण सदस्यबाट समेत निष्कासन गर्न सिफारिस गरेको छ।

जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा बसेको बैठकले दुबै नेताले विगतदेखि नै पार्टी अनुशासन तोड्ने, व्यक्तिवादी र स्वार्थपूर्ण चरित्र देखाउने तथा निर्वाचनका समयमा पार्टीविपरीत गतिविधि गर्ने गरेको पुष्टि हुने प्रमाणहरू फेला परेको जनाइएको छ।

बैठकले उनीहरूलाई निलम्बनको अवस्थामा समेत अनाधिकृत रूपमा पार्टीको नाम र झण्डाको प्रयोग गरी कार्यकर्तालाई भ्रमित पार्ने कार्यमा संलग्न भएको आरोपसमेत लगाएको छ।

यसअघि पार्टीले उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवमाथि पार्टीको रकम दुरुपयोग गरेको, पार्टी नाममा उठाइएको लेवीको रकम हिनामिना गरेको तथा पार्टीको नाममा खरिद गरिएको सम्पत्ति निजिकरण गर्दै फिर्ता गर्न अस्वीकार गरेको आरोप लगाउँदै निलम्बन गरिसकेको थियो।

बैठकको निर्णयअनुसार उनीहरूलाई साधारण सदस्यताबाट पनि हटाउन आवश्यक प्रक्रिया अघि बढाउन सिफारिससहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा पठाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको