२९ असार, बर्दिवास – जीवनराज दाहाल
बुढ्यौली साहित्य समाज महोत्तरीले २१२औँ भानु जयन्तीको अवसर पारेर असार २९ गते आइतबार आफ्नो छैटौँ साहित्यिक श्रृङ्खला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा समाजका अध्यक्ष लालबाबु पोखरेलको अध्यक्षता र बुढ्यौली साहित्य अभियन्ता तथा नियात्राकार रमेश मोहन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमका सञ्चालन समाजका सचिव नारद प्रसाद काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य सदस्य मोहन गिरिले प्रस्तुत गरेका थिए । वाचन तथा विचार प्रस्तुत गर्ने सर्जकहरूमा राखिन्द्र दहाल, विना हमाल, नारायण खड्का, उद्धव ‘अविचल’, अम्बिका दहाल, विपिराज दहाल, नेत्र रम्तेल, महमद कामरुदिन नदाफ, दिनेश ‘गरिब’ पौडेल, प्रकृति पाण्डे, राजेश्वरी काफ्ले, प्रेम घिमिरे, गोपाल बराल, गणेश तिमिल्सिना, नारायण घिमिरे, गणेश घिमिरे, बोधराज दहाल, नीर प्रसाद शर्मा लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अतिथिहरूमा बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्ले, जनवादी लेखक सङ्घ सितामढी (भारत)का कोषाध्यक्ष कामरुदिन नदाफ, जनता नमुना मा.वि.का प्रधानाध्यापक तोप बहादुर ठकुरी, बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपाल बराललगायतले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदान स्मरण गर्दै उहाँको नाम नेपाली साहित्यमा सदैव अमर रहने बताएका थिए ।
शुभकामना मन्तव्य दिने अतिथिहरूमा गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, सर्लाही साहित्य समाजका उपाध्यक्ष राजेश्वरी काफ्ले, लेखनाथ स्मृति सदनका उपाध्यक्ष दिनेश पौडेल, मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाल, सचिव नीर प्रसाद शर्मा, कमला कला साहित्य समाजका अध्यक्ष गणेश तिमिल्सिना, प्रलेस धनुषाका अध्यक्ष गणेश घिमिरे, साहित्य अनुरागी नेत्र रम्तेल, बुद्ध चोक विद्यालयका प्र.अ. अम्बिका दहाल, साहित्यप्रेमी नारायण खड्का, बोधराज दहाल, जनसांस्कृतिक महासङ्घकी केन्द्रीय सदस्य विमला विक, बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल तथा प्रलेस नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेजस्ता विशिष्ट स्रष्टा एवं व्यक्तित्वहरूको समेत उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष लालबाबु पोखरेलले उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा तथा साहित्यप्रेमीहरूप्रति आभार व्यक्त गर्दै साहित्यिक अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा राखेका थिए ।
यस विशेष अवसरमा प्रमुख अतिथि रमेश मोहन अधिकारीले बुढ्यौली साहित्य समाजको स्थापना र उद्देश्यबारे संक्षिप्त परिचर्चा गर्नुका साथै रामायणका रचयिता आदिकवि भानुभक्त आचार्यको जीवन दर्शन र काव्य सम्पदामाथि मननीय चर्चा गरेका थिए ।
कार्यक्रमले भानुभक्तप्रतिको सम्मान मात्र होइन, नव प्रतिभाहरूलाई समेत साहित्यिक अभिव्यक्तिको एक महत्वपूर्ण मञ्च प्रदान गरेको समाजका पदाधिकारीहरू बताउँछन् ।









