काठमाडौँ — आज आषाढ शुक्ल पूर्णिमाका दिन देशभर गुरु पूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। ज्ञान, शिक्षा र संस्कार दिने गुरुजनप्रति कृतज्ञता प्रकट गर्दै शिक्षालय, गुरुकुल तथा विभिन्न संघसंस्थाहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन्।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ। तसर्थ गुरुलाई शास्त्रमा ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत वर्णन गरिएको छ—
> गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
> गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥
गुरु पितामाता सरह सम्मानित व्यक्तित्व भएको मानिन्छ र शास्त्रमा ‘आचार्यदेवो भव’ भनिएको छ।
यसै अवसरमा आज वेदव्यासको स्मृतिमा व्यास जयन्ती पनि मनाइँदैछ। वेदव्यासले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेदको वर्गीकरण गरेका थिए। उनले १८ पुराण र १८ उपपुराणको रचना गरी वैदिक ज्ञानलाई सर्वसाधारणमा पुर्याउने कार्य गरेका थिए। पाँचौँ वेदका रूपमा चिनिने महाभारत पनि उनले नै रचना गरेका हुन्।
व्यासले आफ्ना ग्रन्थमार्फत मानवता र परोपकारको सन्देश दिएका छन्—
> अष्टादश पुराणेषु व्यासस्य वचनं द्वयम् ।
> परोपकारः पुण्याय, पापाय परपीडनम् ॥
अर्थात् अरूको उपकार गर्नु पुण्य हो भने अरूलाई दुःख दिनु पाप हो।
गुरुपूर्णिमा र व्यास जयन्तीको अवसरमा शिक्षालय, गुरुकुल र विविध संस्थाहरूले पूजाआजा, श्रद्धाञ्जली र सम्मान कार्यक्रम गरी गुरुजनप्रति आदर व्यक्त गरिरहेका छन्।









